मकवानपुर:छैटौँ संस्करण सफलतापूर्वक सम्पन्न भएपछि सातौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २८ गतेदेखि सुरु हुने भएको छ।
शुक्रवार एक सूचना जारी गर्दै बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले पुस २८ गतेदेखि गोल्ड कप सुरु हुने जानकारी गराउनुभएको हो। बकैया–३ स्थित हात्ती सुँडे खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा यस वर्ष पनि सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा** हुने जनाइएको छ।
सिनियरतर्फ वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन्। यस्तै जुनियरतर्फ वडा नम्बर २, ११ र १२ गरी ३ टिमले सहभागिता जनाउनेछन्। जुनियरतर्फ वडा नम्बर १ ले सहभागिता नजनाउने अध्यक्ष थिङले जानकारी दिनुभयो।
यस वर्ष पनि प्रमोशन–डिग्रेडेशन प्रणाली लागू हुने आयोजकले जनाएको छ। जुनियरतर्फ विजेता हुने टिम आगामी संस्करणमा सिनियरमा बढुवा हुनेछन् भने सिनियरतर्फ अन्तिम हुने टिम जुनियरमा घटुवा हुने व्यवस्था गरिएको छ।
प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ भने खेलहरू नकआउट चरणमा खेलाइनेछन्। सिनियरतर्फको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। जुनियरतर्फ विजेताले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागिताका लागि वडाहरूलाई पुस १९ गतेसम्म टिम दर्ता गर्ने समय दिइएको छ भने पुस २० गते खेल तालिका सार्वजनिक गरिने अध्यक्ष विजय लामा थिङले जानकारी दिनुभयो।






