हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ स्थित रामनगर भित्री सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। बा ४५ प ७३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय अन्जली थापा मगरका अनुसार चालक अत्यधिक मदिरा सेवन गरेको देखिन्थ्यो, जसका कारण मोटरसाइकल आफैँ अनियन्त्रित बन्दै दुर्घटना पुगेको हो। दुर्घटनापछि मोटरसाइकल तथा सवार दुवै जना सडक किनारमा लडिरहेको अवस्थामा स्थानीयले तत्काल उद्धार गरेका थिए।
दुर्घटनामा घाइते भएका दुई जनाको परिचय हालसम्म सार्वजनिक गरिएको छैन। उनीहरूलाई गम्भीर चोटपटक लागेकाले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले रातिको समयमा सवारीसाधन चलाउँदा उच्च सतर्कता अपनाउन तथा मदिरा सेवनपछि सवारी नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






