काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरका जिल्ला र स्थानीय तहहरूमा पार्टीको अधिवेशन मर्यादित, व्यवस्थित र विवादरहित ढंगमा सम्पन्न गर्न पर्यवेक्षकहरूको टोली तोकेको छ। पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार ७७ जिल्लामा छुट्टाछुट्टै केन्द्रीय पर्यवेक्षक खटाइएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
तोकिएका पर्यवेक्षकहरुलाई सम्बन्धित जिल्ला कार्यसमिति, केन्द्रीय पदाधिकारी, प्रदेश तहका प्रतिनिधिसँग समन्वय गरी अधिवेशनको वातावरण तयार पार्ने जिम्मेवारी दिइएको छ। यसका साथै, उनीहरुले भ्रष्टाचारविरुद्धका कार्यक्रम सञ्चालन, आगामी आन्दोलनको तयारी, पार्टी प्रवेशलाई अभियानका रुपमा सञ्चालन, र आवश्यक सहजीकरणमा समेत भूमिका निर्वाह गर्नुपर्नेछ।
पर्यवेक्षकहरुलाई तत्काल कार्य प्रारम्भ गर्न र पार्टी नेतृत्वसमक्ष नियमित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
तोकिएका पर्यवेक्षकमध्ये झापामा इनु अधिकारी, इलाममा लक्ष्मीप्रसाद सङ्ग्रौला, ताप्लेजुङमा प्रेमराज थाम्सुहाङ, मकवानपुरमा धवल शमशेर राणा, चितवनमा रविन्द्र मिश्र, काठमाडौँमा बुद्धिमान तामाङ, कास्कीमा हिक्मतजङ्ग कार्की, दाङमा स्वाती थापा, बाँकेमा दामोदर भण्डारी, सुर्खेतमा ज्ञानेन्द्र शाही, कैलालीमा जयन्त चन्द, डडेल्धुरामा विरेन्द्र वम लगायत छन्।
राप्रपाले यो कदमलाई संगठन सुदृढीकरण, एकीकृत कार्यदिशा निर्माण, तथा राष्ट्रव्यापी रूपमा पार्टीको प्रभाव विस्तार गर्ने रणनीतिका रूपमा लिएको बताइएको छ।