हेटौंडा: मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रस्थित एक रबर उद्योगमा लाखौं मूल्य बराबरको सामान चोरी गर्ने घटनाका फरार प्रतिवादी पुष्पारंजन दत्त पक्राउ परेका छन्।
मिति २०८२ साल जेठ २७ गते रबर उद्योग प्रा.लि.बाट बाल्टिन र ग्यालिन उत्पादन गर्ने मेसिनमा प्रयोग हुने मेसिनरी औजार र सेन्सरहरू चोरी भएको थियो। उक्त चोरीमा सोही उद्योगमा प्लान्ट इञ्चार्ज तथा स्टोर्स किपरको रूपमा कार्यरत जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय पुष्पारंजन दत्त संलग्न रहेको सिसिटिभी फुटेजबाट पुष्टि भएको थियो।
चोरीपछि फरार रहेका दत्तलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा मिति २०८२ साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–४ लंकुबाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डांका सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार उक्त चोरी प्रकरणमा झण्डै २० देखि २२ लाख रुपैयाँ बराबरको उपकरण चोरी भएको थियो।