काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य जनकराज पाठकले पार्टीभित्र उठ्ने बहस, वाद–विवाद र छलफललाई स्वाभाविक प्रक्रिया मान्नुपर्ने बताएका छन्। उनले प्रजातान्त्रिक दलमा यस्ता क्रियाकलाप सामान्य हुने भएकाले यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्नु गलत भएको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया व्यक्त गर्दै पाठकले भने, “पार्टीभित्र कुनै बहस उठ्यो भन्दैमा पार्टी फुटाउन लाग्यो भन्ने चिन्तन त्याग्नु पर्छ।”
उनले राप्रपालाई मुलुकको भरपर्दो शक्ति, पूर्ण प्रजातान्त्रिक र जीवन्त दल भन्दै यसभित्र मतभेद स्वाभाविक रहेको धारणा राखे। पाठकका अनुसार केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अतिवादी अभिव्यक्ति दिँदा पार्टी अनुशासनमा गम्भीर चुनौती उत्पन्न भएको छ।
‘बहुमतको नाममा मानमर्दन अनुचित’
नेता पाठकले संस्थापन पक्षले पार्टी सञ्चालन गर्ने र इतर पक्षले प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रजातान्त्रिक अभ्यास भएको स्वीकार गरे तापनि बहुमतको नाममा इतर पक्षलाई छानीछानी अपमान र दुव्र्यवहार गर्नु नितान्त गलत भएको स्पष्ट पारे।
“पार्टीभित्र उठेका समस्याहरू समाधान गर्ने वैधानिक संरचना महाधिवेशनपछिको केन्द्रीय समिति हो,”पाठकले लेखेका छन्, “त्यहाँ सार्वभौम सदस्यहरूले निकास दिनेछन्।”
पुराना नेता–कार्यकर्ताको सम्मान जरुरी
पाठकले विगतमा पार्टीमा योगदान गरेका नेता–कार्यकर्ताको सम्मानमा कुनै सम्झौता हुन नहुने धारणा राखे। “राप्रपा भएका कारण कुटाइ खाने, जेलनेल भोग्ने, सम्पत्ति गुमाउनेहरूले पार्टीप्रति बढी माया गर्नु स्वाभाविक हो,”उनले लेखे, “त्यस्ता साथीहरूलाई कम योगदान गर्नेले हेय दृष्टिले हेर्नु हुँदैन।”
राप्रपाको स्थायी विचारमा प्रतिबद्धता दोहोर्याइयो
उनले राप्रपाको चार प्रमुख अडान – राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्रको पुनःघोषणा, संघीयताको खारेजी र भ्रष्टाचारमुक्त समाज निर्माणप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
“हाम्रो यो आस्थामा कसैले शंका नगरे हुन्छ,”पाठकले लेखेका छन्, “राप्रपा कुनै स्वार्थको दल होइन, यो देशभक्तको संगठित शक्ति हो।