हेटौंडा: उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फर्स्योट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो। तर चालु आवमा मुद्दा दर्ता संख्या बढेकाले प्रतिशतमा गिरावट आएको बताइएको छ। एक अदालत अधिकृतका अनुसार, “मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा बढेका कारण घटेको प्रतिशतलाई पनि सन्तोषजनक मान्न सकिन्छ।”
२०७८/७९ मा दर्ता भएका १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार २ सय ४७ मुद्दा फर्स्योट भएका छन्। अघिल्लो आवमा १ हजार ६ सय १९ मुद्दा दर्ता भएका थिए, जसमध्ये १ हजार २ सय ४५ मुद्दा टुंग्याइएको थियो।
चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्रका रूपमा लिएको हेटौंडा इजलासमा एक वर्ष र दुई वर्षभन्दा पुराना मुद्दा शून्य छन्, जसले अदालतको सक्रियता र समयमै न्याय दिन खोजिएको संकेत गर्छ।
सात न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन्। विशेष उल्लेखनीय कुरा के छ भने, कार्यरत सबै न्यायाधीश महिला हुन्, जुन लैंगिक समावेशीताको दृष्टिले प्रशंसनीय मानिएको छ।
उच्च अदालत पाटन हेटौंडा इजलासले निष्पक्ष, शीघ्र र प्रभावकारी न्याय प्रणालीको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै स्थानीय कानुन व्यवसायी तथा नागरिकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।