हेटौंडा : साबिक गढी गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च, राप्रपा मकवानपुरका संस्थापक नेता तथा समाजसेवी कमान सिंह गोलेको निधनको खबरले मकवानपुर क्षेत्र स्तब्ध बनेको छ। स्थानीय राजनीतिको समर्पित पात्रका रूपमा चिनिएका गोलेको निधनले समग्र समाजलाई ठूलो क्षति पुर्याएको मानिएको छ।
कमान सिंह गोलेले विकट गाउँबाट सामाजिक र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको नेतृत्वमा गढी गाउँ पञ्चायतमा विकास र समृद्धिका विविध कामहरू सम्पन्न भएका थिए। राप्रपाको स्थापनाकालमा उनले देखाएको सक्रियता र इमानदार राजनीतिक यात्राले आज पनि धेरैलाई प्रेरणा दिइरहेको छ।
उनको निधनप्रति विभिन्न राजनीतिक दल, समाजसेवी संस्था तथा स्थानीय नागरिकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
गोलेको निधनले स्थानीय राजनीति र सामाजिक सेवामा ठूलो खालीपन सिर्जना गरेको छ। शोकको यस घडीमा राप्रपा मकवानपुरले पार्टीको झण्डा दुई इञ्च तल झुकाउने निर्णय गरेको छ।
“आज पार्टीलाई एकदमै ठूलो शोक परेको छ,” राप्रपा जिल्ला कार्यवाहक अध्यक्ष सागर थापाले बताए।
उनका अनुसार गोलेले आफ्नो जीवनभर पार्टी र गाउँको हितका लागि निरन्तर काम गर्दै आएका थिए। “मकवानपुर गढी गाउँपालिकाको विकासमा ठूलो भाग खेल्ने एकजना व्यक्ति गुमाउनुको पीडा सिंगो क्षेत्रले महसुस गरिरहेको छ,” राप्रपा सांसद दीपक बहादुर सिंहले पनि आफ्नो श्रद्धाञ्जली व्यक्त गर्दै भने ।