हेटौंडा:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ (ख) को अधिवेशन यही असार २८ गते हेटौंडामा हुने भएको छ। अधिवेशन हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजना गरिनेछ।
कार्यक्रमको उद्घाटन राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नं. १ (प्रतिनिधिसभा) का सांसद दीपक बहादुर सिंहले गर्ने तय भएको छ।
अधिवेशनमा पार्टी संगठनलाई सुदृढ बनाउने, आगामी कार्यदिशा तय गर्ने तथा समसामयिक राजनीतिक परिस्थिति र स्थानीयस्तरका प्राथमिकताहरूबारे व्यापक छलफल हुने जनाइएको छ।
राप्रपा मकवानपुर क्षेत्र नं. १ (ख) का अध्यक्ष उमेश थापाका अनुसार, “यो अधिवेशनले संगठनलाई थप सक्रिय र सशक्त बनाउनेछ। पार्टीको वैचारिक स्पष्टता र जनस्तरसँगको सम्बन्धलाई अझ मजबुत पार्ने अवसरका रूपमा हामीले यसलाई लिएका छौं।”
प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०३:२२