हेटौंडा : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद आशा लामाले कडा आपत्ति जनाउनु भएको छ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद लामाले सरकारको बजेट जनताको वास्तविक आवश्यकता, आकांक्षा र भावनाको प्रतिनिधित्व गर्न नसकेको आरोप लगाउनुभयो। “जनताको आवश्यकता एकातिर छ भने, बजेट नेताहरू, सरकार, बिचौलिया र ठेकेदारहरूको स्वार्थमा केन्द्रित छ,” उहाँले भन्नुभयो।
उहाँले प्रदेश सरकारले विकासको नाममा जनताको करबाट उठेको पैसा सिण्डिकेट र आन्तरिक मिलेमतोमा खर्च गर्ने प्रवृत्ति बढाएको टिप्पणी गर्दै जनताप्रति जवाफदेही नदेखिएको धारणा राख्नुभयो।
सांसद लामाले बजेटमा प्राथमिकता पाएका आयोजना र योजना जनतासँग संवादविना तय गरिएको आरोप लगाउँदै त्यसले समावेशी र न्यायपूर्ण विकासको भावना कुण्ठित गरेको बताउनुभयो।
प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार १६:१७