हेटौँडा : पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले एघारौँ गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषिलाई मूल प्राथमिकतामा राखिएको जानकारी दिए ।
यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो। चालु आव २०८१/०८२ मा बकैया गाउँपालिकाले ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
गाउँपालिकाले सार्वजनिक गरेको बजेट अनुसार आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
कुल बजेटमध्ये २८ करोड ६ लाख ९१ हजार पूँजीगत खर्चतर्फ र ६३ करोड ६५ लाख ५९ हजार चालु खर्चतर्फ विनियोजन गरिएको छ। नेपाल सरकारबाट सशर्त अनुदानका रूपमा ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदान प्राप्त हुने विवरण बजेटमा उल्लेख छ।
कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाले कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड र त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा २ करोड ५० लाख छुट्याएको छ। साथै कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार निर्माणमा ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणमा ६५ लाख तथा प्रत्येक वडाको समानुपातिक विकासका लागि ४ करोड ८० लाख बजेट छुट्याइएको छ। कार्यपालिका सदस्यहरूलाई ८ लाखका दरले ४८ लाख विनियोजन गरिएको छ।
उपाध्यक्ष खत्रीका अनुसार, यो बजेट विशेषगरी कृषिमा आत्मनिर्भरता, बजार पूर्वाधार, चिस्यान प्रणाली र स्थानीय उत्पादनलाई जोड दिन बनाइएको हो। गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा बजेट पारित गरिएको हो।