काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पूर्व प्रहरी उपरीक्षक (डिएसपी) सुरेन्द्र बहादुर सिंह, कलाकार उपेन्द्र भण्डारी लगायत विभिन्न जिल्लाका युवा नेताहरू स्वस्फूर्त रूपमा प्रवेश गरेका छन्।
पार्टीको राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूले राप्रपामा औपचारिक प्रवेश गरेका हुन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा उनीहरूलाई राप्रपाको सदस्यता प्रदान गरिएको थियो। नवप्रवेशीहरूमा समाजसेवी, पूर्व प्रशासनिक अधिकृत, कलाकार तथा विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरू रहेका छन्।
राप्रपामा युवा पुस्ताको उत्साहजनक सहभागिता देखिन थालेको सन्दर्भमा अध्यक्ष लिङ्देनले नयाँ सदस्यहरूलाई स्वागत गर्दै देशमा वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झनै बलियो भएको बताए। उनले भने, “नयाँ जोश, सोच र उर्जाका साथ आउने साथीहरू हाम्रो पार्टीको भविष्य हुन्। हामी सबैलाई मिलेर राष्ट्र, राष्ट्रियता र सनातन मूल्यको संरक्षणमा लाग्न आवश्यक छ।”
कलाकार उपेन्द्र भण्डारीले राप्रपाको नारा, दृष्टिकोण र संगठनात्मक अनुशासनले आफूलाई आकर्षित गरेको बताए।
पूर्व डिएसपी सुरेन्द्र बहादुर सिंहले राष्ट्र र जनताका लागि निष्कलंक रूपमा सेवा गर्न राप्रपा उपयुक्त प्लेटफर्म भएको बताए।
नवप्रवेशीहरूलाई स्वागत गर्न पाउँदा पार्टी नेता तथा कार्यकर्ताहरूले समेत हर्ष व्यक्त गरेका छन्।
राप्रपा नेतृत्वले आगामी दिनमा अझ धेरै युवा वर्ग, पूर्व सैनिक, कलाकार तथा बुद्धिजीवीहरूलाई पार्टीमा आकर्षित गर्ने रणनीतिमा लागेको जनाएको छ।