हेटौँडा : बागमती प्रदेशसभामा राप्रपा सांसद गिरिबहादुर तामाङले ‘रैती’ भन्ने शब्द प्रयोग गर्दै आजको राज्य प्रणालीमाथि तीव्र प्रहार गरेका छन्। इतिहासमा रैती भन्ने शब्दले भूमिपतिको अधीनमा रहेका अधिकारविहीन किसानलाई जनाउँथ्यो, जुन अवस्था सांसद तामाङका अनुसार आज पनि कहालिँदो रूपमा विद्यमान छ।
“के हामी अझै पनि रैती हौँ?” बागमती प्रदेशसभाको बैठकमा बोल्दै तामाङले प्रश्न गरे। उनले थपे, “राज्यले जनतालाई सेवाग्राही होइन, अधीनमा राखिएको प्रजा ठानिरहेजस्तो लाग्छ। संविधानले दिएका अधिकारहरू कागजमा मात्र सीमित छन्।”
तामाङको मन्तव्यले सत्ता र प्रशासनप्रति आक्रोश प्रकट गर्यो। उनले जनतालाई अझै पनि ‘शासनका उपनिवेश’ जस्तै व्यवहार गरिने उल्लेख गरे। “जनताको जमिन खोसिन्छ, आवाज दबाइन्छ, तर भनिन्छ – हामी लोकतन्त्रमा छौँ,” तामाङको आरोप थियो।
सांसद तामाङको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। धेरैले उनलाई सशक्त प्रतिपक्षी स्वरको रूपमा हेरेका छन् भने केहीले भने उनको बोलीलाई अतिरञ्जित भनेका छन्।
प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार ०३:०७