हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेशसभा सांसद उद्धव थापाले हेटौँडा स्थित हेटौँडा सरकारी अस्पताललाई ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा रूपान्तरण गर्ने प्रदेश सरकारको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।
आज बागमती प्रदेशसभाको बैठकमा मन्तव्य दिंदै सांसद थापाले भने, “मदन भण्डारीको नाममा प्रतिष्ठान खोल्नुपर्छ भने छुट्टै पूर्वाधारसहित बनाइयोस्। तर, अहिलेको सरकारी अस्पताललाई गाभेर प्रतिष्ठान बनाउने निर्णय न त व्यावसायिक हो, न नै जनहितमा।”
उनको भनाइमा, सरकारको यो कदमले अस्पतालको सुसंरचना र सेवालाई कमजोर बनाउन सक्छ र त्यसले सर्वसाधारण नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्न सक्छ। “यो विषय स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर र राजनीतिक प्रयोगबीचको सन्तुलनसँग गम्भीर रूपमा सम्बन्धित छ,” थापाले भने।
सांसद थापाले सरकारले स्वास्थ्य शिक्षा जस्तो संवेदनशील क्षेत्रमा दीर्घकालीन दृष्टिकोण नअपनाएको भन्दै आलोचना गरे। “प्रतिष्ठान आवश्यक हो भने छुट्टै बनाओस् – विस्तृत योजना, नयाँ जग्गा र पूर्वाधार तयार गरेर। तर अहिले चलिरहेको अस्पताललाई गाभ्ने काम ठिक होइन,” उनले प्रष्ट पारे।
यसअघि बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई स्तरोन्नति गर्दै ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा रूपान्तरण गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारको दाबी अनुसार उक्त योजना अन्तर्गत मेडिकल कलेज, अनुसन्धान केन्द्र र सुपर स्पेशियलिटी सेवाहरू थपिनेछ।
यता, सत्तापक्षले भने आलोचना अस्वीकार गर्दै यो निर्णयले गण्डकी प्रदेशमा स्वास्थ्य र चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने विश्वास व्यक्त गरेको छ।