काठमाडौँ : राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्रको माग र संघीयताको खारेज लगायतका मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमा संलग्न रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपकबहादुर सिंहसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो गिरफ्तारीप्रति निन्दा जनाउँदै तत्काल रिहाइको माग गरेको छ। पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने अधिकार नागरिकको मौलिक हक भएको र उक्त गिरफ्तारी संविधान विपरीत तथा सर्वसत्तावादी सोचको परिचायक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह र गिरफ्तार गरिएका अन्य सबै नेताहरूलाई अविलम्ब र सर्तबिना रिहा नगरिए राप्रपा आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ।”
यस्तै, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, मकवानपुरले पनि अलग विज्ञप्ति जारी गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपकबहादुर सिंहलाई सुरक्षानिकायद्वारा पक्राउ गरिएको घटनाको कडा विरोध गरेको छ। संगठनले यो कार्य लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको उल्लंघन भएको बताउँदै आज बेलुका ८ बजेसम्म रिहा नगरिए देशव्यापी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएको छ।
युवा संगठनका अध्यक्ष किशोर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनको सम्पूर्ण जिम्मेवारी सरकार र सुरक्षा निकायले लिनुपर्नेछ।”
राप्रपाले सरकारलाई शान्तिपूर्ण आन्दोलनमा अवरोध नगर्न आग्रह गर्दै संविधानसम्मत विरोध प्रदर्शनमा दमनको नीति त्याग्न चेतावनी दिएको छ।