हेटौँडा:बागमती प्रदेश सभाको आजको बैठकमा सांसद धनेश्वरी प्रजापतिले घरेलु मदिरा उद्योगको औपचारिक विकास र बजारीकरणका लागि प्रदेश सरकारले के योजना अघि सारेको छ भन्ने विषयमा गम्भीर प्रश्न उठाएकी छन्।
उनले प्रदेश सरकारलाई लक्षित गर्दै भनिन्, “हाम्रो सांस्कृतिक, आर्थिक र सामाजिक संरचनासँग गाँसिएको घरेलु मदिरा उत्पादनलाई सरकारी नीति र बजेटमा किन प्राथमिकता दिइएको छैन?”
प्रजापतिका अनुसार, धेरैजसो महिला र साना समुदायले परम्परागत सीप प्रयोग गरी घरेलु मदिरा उत्पादन गर्दै आएका छन्, तर सरकारी सहयोग नहुँदा उनीहरू गैरकानुनी रूपमा काम गर्न बाध्य छन्। “यदि प्रदेश सरकारले यस्को ब्रान्डिङ, गुणस्तर परीक्षण, प्याकेजिङ र बजारीकरणमा सहयोग पुर्यायो भने, यो क्षेत्र रोजगारी र आम्दानीको ठूलो स्रोत बन्न सक्छ,” उनले भनिन्।