हेटौंडा : बागमती प्रदेशसभा सदस्य आशा लामाले प्रदेश सरकारमा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको आरोप लगाएकी छन्। बिहिवार हेटौंडामा बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले अहिलेको प्रदेश सरकार जनताको अपेक्षा विपरीत चलेको र पारदर्शितामा गम्भीर प्रश्न उठ्ने गरेको बताइन्।
“अहिलेका परियोजनामा लागत बढेको, कामको गुणस्तर घटेको र अनियमितता व्यापक भएको देखिन्छ,” सांसद लामाले भनिन्, “जनताले विश्वास गरेका प्रतिनिधिहरूले नै गलत कार्यमा संलग्न हुँदा प्रदेशको छवि धुमिल हुँदै गएको छ।”
उनले सरकारसँग पारदर्शिता, जवाफदेहिता र सुशासनको माग गर्दै भ्रष्ट्राचार नियन्त्रणका लागि कडा कदम चाल्न आग्रह गरिन्। साथै, उनले नागरिक समाज, सञ्चार माध्यम र सरोकारवालालाई पनि भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन आह्वान गरिन्।