हेटौंडा: विद्यालयमा अनुशासन कायम गर्ने नाममा विद्यार्थीमाथि गरिएको शारीरिक दण्ड एकपटक फेरि विवादको केन्द्रमा छ। हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका एक शिक्षकले कक्षा ७ मा अध्ययनरत १३ वर्षीय बालकलाई कुटपिट गरेका छन्।
घटनापछि बालकका बुबा ईमान सिंघलानले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा शिक्षक प्रितेश कुमार कलवार विरुद्ध उजुरी दर्ता गराएका छन्। उजुरीमा शिक्षकले होमवर्क नगरेको भन्दै बालकलाई कक्षामै कुटपिट गरी धम्कीसमेत दिएको उल्लेख छ।
शारीरिक चोटपटक देखिएपछि परिवारले बालकलाई अस्पतालमा परीक्षण गराएका छन्। मेडिकल रिपोर्टमा निलडाम तथा गम्भीर घाउचोट देखिएको जनाइएको छ।
शिक्षकले घटनालाई स्वीकार्दै क्षमायाचना गरेका छन्। तर,बाल अधिकारकर्मी तथा सरोकारवाला निकायहरूले यस घटनालाई गम्भीर रूपमा लिएका छन्।
सिविन बालहेल्पलाइन र प्रदेश बालअधिकार समितिका सदस्य ज्ञवेन्द्र ज्ञवाली भन्छन्, “अनुशासनको नाममा शारीरिक वा मानसिक हिंसा गर्नु कानुन विपरीत मात्र होइन, अनैतिक पनि हो।”यस्तो क्रूर यातना दिन नपाइने बताउँदै यस्तो हिंसा गर्नेलाई कानुन बमोजिम सजय हुनुपर्ने बताउनुभयो ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कुनै पनि कारणले बालकलाई कुटपिट गर्न पाइँदैन। अझ हेटौंडा उपमहानगरपालिकाले आफूलाई ‘बालमैत्री पालिका’ घोषणा गरिसकेको अवस्थामा यस्तो घटना हुनु स्थानीय सरकारको प्रतिवद्धता माथि प्रश्न उठाउने विषय बनेको छ।
हाल प्रहरीले दुवै पक्षलाई छलफलमा राखेको छ भने आज पीडित पक्षले घरायसी सल्लाहका लागि केही समय मागेको बताइएको छ।
शिक्षालयहरू बालमैत्री र सुरक्षित स्थल बन्नुपर्नेमा जोड दिँदै अधिकारकर्मीहरू यस्तो घटनामा मेलमिलाप होइन, कानुनी उपचार आवश्यक रहेको बताउँछन्।