हेटौंडा: बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा सम्मेलन २०८२ हेटौंडामा सुरु भएको छ। तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन आज आइतबार प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले गर्नु भयो।
सम्मेलन सुरु हुनुअघि हेटौंडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकीसहितको र्याली निकालिएको थियो, जसले शहरको मुख्य सडक परिक्रमा गर्दै मोटल एभोकाडोमा औपचारिक कार्यक्रममा परिणत भएको थियो।
मुख्यमन्त्री लामाले उद्घाटन समारोहमा बोल्दै युवाको क्षमता अभिवृद्धि र उनीहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउन प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। “सीप विकास र नवप्रवर्तनमा लगानीमार्फत युवालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,” उनले भने।
कार्यक्रम युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनका प्रमुख बिषयहरूबारे जानकारी दिँदै, “डिजिटल सुशासन, शिक्षा, सिप र सृजनशीलता, जलवायु परिवर्तन र दिगो विकास, नेतृत्व क्षमता विकास, नीति निर्माणमा युवा सहभागिता तथा मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद जस्ता विषयमा ६ वटा विशेष सत्र सञ्चालन हुनेछन्,” भने।
चौलागाईका अनुसार सम्मेलनमा बागमती प्रदेशका ११९ वटै पालिकाबाट एक/एक जना प्रतिनिधि तथा देशका सातै प्रदेशका युवाको सहभागिता सुनिश्चित गरिएको छ। सहभागीहरू अनलाइन आवेदन र सिफारिस प्रक्रियामार्फत चयन गरिएको हो।
सम्मेलनको उद्देश्य युवालाई नवप्रवर्तन, उद्यमशीलता तथा सामाजिक नेतृत्वका क्षेत्रमा सक्रिय बनाउने र तिनीहरूलाई आवश्यक सिप तथा मार्गदर्शन प्रदान गर्नु हो। सम्मेलन आजदेखि ३ दिन आगामी मंगलबारसम्म सञ्चालन हुनेछ।