मकवानपुर । प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति विषयमा दुई दिने क्षमता अभिवृद्धि तालिम हेटौंडामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वय तथा सुनौलो सिसौट नेपालको आयोजनामा बुधबारदेखि तालिम सुरु भएको हो। तालिमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले गरेका थिए। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घलानले पछिल्लो समय प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रमा अवसरका साथै चुनौती पनि थपिएको उल्लेख गर्दै सत्य–तथ्यमा आधारित व्यवसायिक पत्रकारिता आवश्यक रहेको बताए।
अध्यक्ष अधिकारीले पत्रकारिता अहिले डिजिटल प्लेटफर्मतर्फ तीव्र रुपमा उन्मुख भएकाले सञ्चारकर्मीले विकृति–विसङ्गतिविरुद्ध आवाज उठाउँदै समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। तालिमको पहिलो दिन सञ्चारकर्मी दिलभूषण पाठकले पत्रकारितामा प्रविधिको प्रयोग र लैङ्गिक संवेदनशीलताबारे आफ्ना अनुभव बाँडे। प्राध्यापक डा. निमेष निखिलले समाचार लेखनमा भाषिक शुद्धताबारे प्रशिक्षण दिए भने आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले सूचना प्रविधिको प्रयोग, साइबर सुरक्षा तथा डिजिटल प्लेटफर्मको सदुपयोग सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरे।
तालिममा मकवानपुरका विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको सञ्चालन पत्रकार महासंघ मकवानपुरका सचिव केशव सर्मपण सुवेदीले गरेका थिए भने सुनौलो सिसौट नेपालका सचिव अनिकेत तिवारीले तालिमको उद्देश्यबारे प्रकाश पारे। उद्घाटन कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्यलगायत विभिन्न सञ्चार संस्था र संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो।