मकवानपुर । मकवानपुरमा सिकारका क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको मृत्यु राक्सिराङ गाउँपालिका–८ राजराङ्ग निवासी ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किँदा भएको हो।
प्रहरीका अनुसार थिङ र ब्लोन साथी हुन्। उनीहरू मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न गएका थिए। दुवै जनासँग एक–एक थान भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ।
जङ्गलमा सिकार गर्दै हिँडिरहेका क्रममा ब्लोन लहरामा अल्झिएर लडेपछि उनले बोकेको भरुवा बन्दुक अचानक पड्किएको र पछिपछि आइरहेका सेते थिङलाई गोली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएका दुवै हतियारसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए।






