काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको उल्लेख गर्दै अब देशमा नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपाल निर्णायकत्वको संकटमा परेको र देश गम्भीर रूपमा भू–राजनीतिक चक्रव्यूहमा फसेको दाबी गरे। यस्तो अवस्थामा आ–आफ्ना राजनीतिक मान्यता र दर्शनले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए।
उनले वर्तमान संविधान प्रभावहीन भइसकेको टिप्पणी गर्दै त्यसलाई जबरजस्ती जोगाउने प्रयासले देशलाई थप दुर्घटनातर्फ लैजाने चेतावनी दिए। “संविधान त मरिसकेको छ, त्यसकारण त्यसलाई जबरजस्ती ब्यूँताएर देशलाई थप दुर्घटनामा लैजानुभन्दा अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ,” उनले भने।
अध्यक्ष लिङ्देनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा देशले अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै अब सबै राजनीतिक शक्तिले देशलाई केन्द्रमा राखेर, देशकै हितमा निर्णय गर्नुपर्नेमा जोड दिए।
भावी परिवर्तनका क्रममा जोगाउनैपर्ने तीनवटा आधारभूत उपलब्धिहरू पनि उनले स्पष्ट पारे। तीमध्ये २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था तथा २०६२÷६३ को आन्दोलनबाट स्थापित समावेशी र समानुपातिक प्रणालीलाई संरक्षण गर्दै नयाँ राष्ट्रिय समझदारी कायम गर्नुपर्ने उनको धारणा थियो।
“देशले जित्ने निर्णय गर्नुपर्छ। त्यस्तो निर्णय गर्दा यी ऐतिहासिक उपलब्धिहरूलाई आधार मानेर अघि बढ्नुपर्छ,” अध्यक्ष लिङ्देनले भने।






