काठमाडौं : सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले काठमाडौँको रिङरोड विस्तारको नयाँ खण्डमा विगतमा भएका कमजोरी दोहोरिन नदिन सम्बद्ध निकायलाई आग्रह गरेका छन्।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर खण्डमा भइरहेको चक्रपथ विस्तारका क्रममा योजनाबद्ध र दीर्घकालीन सोचका साथ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले रिङरोड विस्तार गर्दा “कहाँ ओभरपास वा अण्डरपास राख्ने हो” भन्ने विषयमा अहिले नै स्पष्ट खाका तय गर्नुपर्ने बताए।
“आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि फेरि निर्माण गर्नुपरेको छ, जबकि आवश्यक नभएको ठाउँमा बनाएको संरचना भत्काउनुपर्ने अवस्था आएको छ,” उनले भने, “यस्ता योजनाविहीन कामले लागत र समय दुवै खेर गएको छ।”
सभापति सिंहले कलंकी–बल्खु क्षेत्रमा बनाइएका भौतिक संरचना, त्यहाँ देखिएको ट्राफिक जाम र जनसमस्याबाट पाठ सिक्नुपर्नेमा पनि विशेष जोड दिए।
उनले भने, “विकास योजनाले जनतालाई राहत दिनुपर्छ, समस्या थप्ने किसिमका संरचना दोहोरिनु हुँदैन।”