काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन नसकिएसम्म नेपाल प्रिमियर लिग (एनपीएल) सँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको छ।
परिषदले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र लेख्दै यस्तो आदेश जारी गरेको हो। गत फागुन १२ गते अख्तियारमा दर्ता भएको उजुरीका विषयमा छानबिन गर्न खेलकुद मन्त्रीले जेठ ११ गते कार्यदल गठन गरेका थिए।
कार्यदलले जेठ १४ मा क्यानलाई उजुरीसँग सम्बन्धित विषयमा पत्राचार गरे पनि क्यानले चित्तबुझ्दो जवाफ नदिएको परिषदको ठहर छ।
क्यानले मागिएका कागजात र तथ्य उपलब्ध नगरी सतही जवाफ दिएको आरोप परिषदले लगाएको छ। परिषदको पत्रमा भनिएको छ, “छानबिन कार्यदलले निष्कर्षमा पुग्न नसक्ने अवस्था रहेकोले अन्तिम पटक मागिएका प्रश्नहरूको तथ्यपरक र वस्तुनिष्ठ जवाफ १२ घण्टाभित्र पेश गर्नुहोस्। साथै, अख्तियारको छानबिन नसकिएसम्म एनपीएलसँग सम्बन्धित कुनै पनि कार्य नगर्न र नगराउन निर्देशन दिइन्छ।”